वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१६ मा बसोबास गर्दै आएकी खुश्बु श्रीवास्तवले आफू र आफ्नो परिवारमाथि भएको कुटपिट घटनामा प्रहरी प्रशासनले बेवास्ता गरेको गम्भीर आरोप लगाएकी छन्। पीडितले प्रेस वक्तव्य जारी गर्दै पटक–पटक कुटपिट हुँदा समेत न्याय नपाएको गुनासो गरेकी हुन्।
उनका अनुसार साविक भारतको बिहार राज्य, चनपटिया निवासी बताइएका प्रशुराम प्रसाद साह, निर्मला गुप्ता र निरज गुप्तासँग कुनै व्यक्तिगत दुश्मनी नभए पनि विगतका केही घटनालाई लिएर उनीहरूले निरन्तर दुर्व्यवहार गर्दै आएको आरोप छ।
पीडितका अनुसार २०८२ साल असार २९ गते उनी र उनका श्रीमानमाथि घरमै प्रवेश गरी गालीगलौज तथा कुटपिट गरिएको थियो। उक्त घटनामा उनका श्रीमानको दाहिने कानको श्रवण शक्ति करिब ७० प्रतिशतसम्म गुमेको दाबी गरिएको छ। तर, जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिन जाँदा समेत कुनै छानबिन नभएको आरोप छ।
न्यायका लागि पीडित परिवारले उच्च अदालत जनकपुरको अस्थायी इजलास, वीरगञ्जमा मुद्दा दर्ता गराएको र अदालतबाट आफ्नो पक्षमा आदेश समेत आएको उनीहरूको भनाइ छ। तर, त्यसपछि पनि विपक्षीले पुनः घरमै प्रवेश गरी कुटपिट गरेको र ढुंगा–मुढा प्रहार गर्दा श्रीमान तथा वृद्ध ससुरा घाइते भएको उल्लेख गरिएको छ।
घटनापछि बसपार्क प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय पर्सा तथा वडा प्रहरी कार्यालय बिर्तामा धाउँदा पनि स्पष्ट कारबाही नभएको पीडितको आरोप छ। प्रहरीबाट आश्वासन मात्र पाइएको तर व्यवहारिक रूपमा अनुसन्धान अगाडि नबढाइएको उनीहरूको गुनासो छ।
पीडितका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा डिएसपी स्तरबाट समेत अनुसन्धान गर्न निर्देशन दिइएको भए पनि हालसम्म कार्यान्वयन नभएको दाबी गरिएको छ।
प्रेस वक्तव्यमा पीडितले प्रश्न उठाएकी छन्— “पटक–पटक कुटपिट हुँदा पनि प्रहरी किन मौन छ? के पीडितले न्याय पाउन सक्दैनन्?”
उक्त घटनाबारे सम्बन्धित प्रहरी निकायको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक हुन बाँकी रहेको छ।






