Categories समाचार

फर्जी उम्मेदवारप्रति रास्वपा पर्साको कडा चेतावनी: सामाजिक सञ्जालमा प्रचार नगर्नुहोस्

रास्वपाको आधिकारिक उम्मेदवार नभएको स्पष्ट: फर्जी प्रचारप्रति सतर्क रहन आग्रह

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले आफूलाई पार्टीको उम्मेदवार भन्दै सामाजिक सञ्जालमा भइरहेको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले यस्ता गतिविधि पूर्ण रूपमा भ्रामक भएको स्पष्ट पार्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

Advertisement

जिल्ला कार्यालय पर्साद्वारा जारी विज्ञप्तिअनुसार पछिल्लो समय केही व्यक्ति तथा समूहहरूले फेसबुक, टिकटक लगायतका माध्यममार्फत आफूलाई वीरगंज महानगरपालिका तथा अन्य स्थानीय तहका मेयर र वडाअध्यक्ष पदका उम्मेदवारको रूपमा प्रस्तुत गर्दै प्रचारप्रसार गरिरहेको पाइएको छ।

Advertisement

रास्वपा पर्साले हालसम्म कुनै पनि पदका लागि उम्मेदवार टुंगो नलागेको स्पष्ट गर्दै यस्ता दाबीहरू कपोलकल्पित र भ्रामक भएको जनाएको छ। पार्टीले आफ्नो नाम र प्रतिष्ठा दुरुपयोग गरी जनतालाई भ्रममा पार्ने प्रयास भइरहेको उल्लेख गरेको छ।

जिल्ला सचिव सुदिश प्रजापतिले हस्ताक्षर गरेको विज्ञप्तिमा यस्ता गलत गतिविधि तत्काल रोक्न सम्बन्धित सबैलाई सचेत गराइएको छ। साथै, आम नागरिकलाई यस्ता भ्रामक प्रचारमा विश्वास नगर्न र सतर्क रहन अनुरोध गरिएको छ।

रास्वपाले पार्टीको आधिकारिक निर्णयबिना उम्मेदवार भएको दाबी गर्नेहरूप्रति कडा कारबाहीको संकेतसमेत दिएको छ। रास्वपाले जनमत बढेसँगै पार्टीको नाम भजाउँदै व्यक्तिगत लाभ लिन खोज्ने प्रवृत्ति बढेको उल्लेख गर्दै यस्ता गतिविधि सह्य नहुने स्पष्ट संकेत दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *