वीरगञ्ज । हरि खेतान बहुमुखी क्याम्पसमा व्यवस्थापन र शिक्षकबीच लामो समयदेखि जारी विवाद अन्ततः वार्तामार्फत समाधानतर्फ उन्मुख भएको छ। आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको त्रिपक्षीय बैठकपछि स्थगित परीक्षा र पठनपाठन पुनः सञ्चालन गर्ने सहमति जुटेसँगै दिनभरको तनाव साम्य भएको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको रोहबरमा बसेको बैठकमा क्याम्पस व्यवस्थापन, शिक्षक प्रतिनिधि र विद्यार्थी अगुवाहरू सहभागी थिए। बैठकले तत्काल कक्षा ११ र १२ को स्थगित परीक्षा सञ्चालन गर्ने, नियमित पढाइ सुचारु गर्ने र आन्दोलनका क्रममा घाइते भएका विद्यार्थीहरूको उपचार खर्च क्याम्पसले व्यहोर्ने निर्णय गरेको छ। साथै, बाँकी माग र समस्याहरू समाधान गर्न सोमबार पुनः छलफल गर्ने सहमति समेत भएको छ।
यसअघि बिहान परीक्षा दिन पुगेका विद्यार्थीहरूलाई शिक्षकहरूको आन्दोलनका कारण परीक्षा हुन नसक्ने जानकारी दिइएपछि स्थिति तनावग्रस्त बनेको थियो। आक्रोशित विद्यार्थीहरू सडकमा उत्रिएर प्रदर्शनमा उत्रिँदा प्रहरीसँग झडप भएको थियो भने केही विद्यार्थी घाइते भएका थिए।
विद्यार्थीहरूले लामो समयदेखि व्यवस्थापन र शिक्षकबीचको द्वन्द्वका कारण पढाइ र आन्तरिक मूल्यांकन प्रभावित भएको गुनासो गर्दै आएका छन्। यता, क्याम्पस पक्षले भने शिक्षकहरूको असहयोगका कारण समस्या उत्पन्न भएको दाबी गर्दै आएको छ।
दिनभरको प्रदर्शन र तनावपछि अन्ततः वार्तामार्फत सहमति जुट्नुले क्याम्पसको शैक्षिक वातावरण सुधारतर्फ सकारात्मक संकेत देखिएको सरोकारवालाहरूले बताएका छन्। अब आगामी छलफलले दीर्घकालीन समाधान निकाल्ने अपेक्षा गरिएको छ।






