Categories शिक्षा

जगरनाथपुर गाउँपालिकाद्वारा एसईई दिने विद्यार्थीलाई सम्मान, शिक्षामा नयाँ ऊर्जा

जगरनाथपुर गाउँपालिकामा शिक्षा प्रोत्साहन : SEE विद्यार्थी सम्मानित

वीरगंज । जगरनाथपुर गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै एक प्रेरणादायी कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको नेतृत्वमा आयोजित कार्यक्रममा एसईई परीक्षामा सहभागी करिब १ सय २० जना विद्यार्थीलाई सम्मान गरिएको हो।

Advertisement

गाउँपालिका शिक्षा समितिका अध्यक्षसमेत रहेका अध्यक्ष यादवको पहलमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बबिता देवी सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, विभिन्न विद्यालयका प्रधानाध्यापक, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो।

Advertisement

कार्यक्रममा गाउँपालिकाको लोगो अंकित कपी तथा प्रमुख प्रशासकीय अधिकृतको सम्पर्क नम्बर उल्लेख गरिएको कलम विद्यार्थीहरूलाई वितरण गरिएको थियो। यसले विद्यार्थीहरूमा थप हौसला र जिम्मेवारीको भावना अभिवृद्धि गर्ने विश्वास गरिएको छ।

विद्यार्थीहरू राष्ट्रका भविष्यका कर्णधार भएकाले सानो सम्मान र प्रोत्साहनले ठूलो उपलब्धि हासिल गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष यादवले बताए। उनले गाउँपालिकामा गुणस्तरीय शिक्षाको पहुँच विस्तार, समग्र शैक्षिक विकास तथा विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि आफू सधैं प्रतिबद्ध रहने प्रतिबद्धता समेत व्यक्त गरे।

सम्मानित विद्यार्थीमध्येका एक विक्रम कुमार रौनियारले यस्तो कार्यक्रमले आफूहरूमा आत्मविश्वास बढाउनुका साथै उत्कृष्ट नतिजा हासिल गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।स्थानीय तहको सक्रिय पहलमा शिक्षा क्षेत्रमा गरिएको यस्तो प्रयासलाई सकारात्मक रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *