वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेताको टुंगो लगाउन आज केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी कार्यालयमा बस्ने बैठकले विधानमा रहेको बाधा–अड्काउ हटाउँदै वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेताका रूपमा अघि बढाउने तयारी गरेको स्रोतले जनाएको छ।
यसअघि तय कार्यतालिका अनुसार चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहण हुनेछ। सोही दिन दिउँसो रास्वपाले संसदीय दलको नेता चयनका लागि छुट्टै बैठक राखेको छ। विधान महाधिवेशन नभइसकेको अवस्थामा केन्द्रीय समितिलाई प्राप्त अधिकार प्रयोग गर्दै आवश्यक संशोधन गर्ने र त्यसपछि दलको नेता चयन गर्ने योजना रहेको छ।
दलको नेता चयन भएसँगै सरकार गठन प्रक्रिया तीव्र हुने देखिएको छ। रास्वपा स्रोतका अनुसार बालेन्द्र शाहले चैत १३ गते राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्रीका रूपमा शपथ लिने तयारी भइरहेको छ।
सरकार गठनबारे पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबीच निरन्तर छलफल जारी रहेको बताइएको छ। मन्त्रीपरिषद् गठनमा विषयगत दक्षता र अनुभवलाई प्राथमिकता दिने नीति लिइने संकेत गरिएको छ।
यसैबीच, प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराउने तालिका तय भइसकेको छ। रास्वपाबाट सरकारमा जाने व्यक्तिहरूको चर्चा चुलिए पनि अन्तिम नामावली भने बिहीबार मात्र सार्वजनिक हुने जनाइएको छ।






