वीरगंज । प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहण र पहिलो संसद् बैठकका लागि आवश्यक सबै तयारी पूरा गरिएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार सिंहदरबारस्थित संसद् भवनभित्र बैठक सञ्चालन गर्न आवश्यक भौतिक संरचना निर्माण कार्य सम्पन्न भइसकेको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने निर्वाचन आयोगले निर्वाचित सदस्यहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिसकेको छ।
यसैक्रममा, ज्येष्ठ सदस्यका रूपमा नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित अर्जुननरसिंह केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिने कार्यक्रम तय भएको छ। केसीले शपथ लिएपछि बिहीबार बाँकी २ सय ७४ जना प्रतिनिधिसभा सदस्यलाई पनि उनी स्वयंले शपथ गराउनेछन्।
ज्येष्ठ सदस्य केसीको शपथग्रहण राष्ट्रपति भवन शीतल निवासमा हुनेछ भने अन्य सदस्यहरूको शपथ संसद् भवनमै आयोजना गरिनेछ। यद्यपि, संसद् भवनको मुख्य बैठक हल अझै निर्माणाधीन अवस्थामा रहेकाले प्रारम्भिक बैठक र शपथग्रहणका कार्यक्रमहरूका लागि सोही भवनभित्र रहेको बहुउद्देश्यीय हल प्रयोग गरिनेछ।
संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार मुख्य हल तयार हुन अझै केही समय लाग्ने भएकाले तत्कालका लागि वैकल्पिक व्यवस्था मिलाइएको हो।






