वीरगंज । प्रधानमन्त्री सुशीला कार्कीले तीन महत्त्वपूर्ण प्रतिवेदन तथा दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेकी छन्।
उनले भदौ २३ र २४ गते भएका घटनाबारे गठन गरिएको जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल संगठन तथा बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र सुशासन मार्गचित्र, २०८२ सार्वजनिक गर्ने निर्णय लिएकी हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार भदौ २३–२४ का घटनासम्बन्धी प्रतिवेदन आज (बुधबार) संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखेर सार्वजनिक गरिनेछ।
यसअघि मंगलबार नै बाल संगठन र बालमन्दिरसम्बन्धी आयोगको प्रतिवेदन पनि सोही पुस्तकालयमा राखी सार्वजनिक गर्ने निर्णय भइसकेको थियो।
यसैगरी, चैत ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ कार्यान्वयनको चरणमा लैजाने निर्णयसमेत गरिएको छ। उक्त मार्गचित्र छिट्टै सार्वजनिक गरिने बताइएको छ।






