वीरगञ्ज । पर्साको वीरगञ्जस्थित भन्सार मेनगेटबाट स्रोत नखुलेको नगद रकमसहित एक व्यक्ति पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हेडक्वाटर पर्सा वीरगञ्जबाट सप्रसनि मोहमद मुस्ताक अलीको कमाण्डमा खटिएको ७ जनाको चेकप्वाइन्ट टोलीले विशेष सूचनाको आधारमा उक्त व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
आज अपराह्न करिब ३:३० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको ना २ प ९५८७ नम्बरको हिरो होण्डा मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक वीरगञ्ज महानगरपालिका–८ गहवा निवासी अन्दाजी ४४ वर्षीय अनिल कुमार शाह पक्राउ परेका हुन्। प्रहरीले मोटरसाइकलको सिट कभरमुनि प्लास्टिकमा प्याक गरेर लुकाई छिपाई ल्याइएको अवस्थामा स्रोत नखुलेको नेपाली नगद बरामद गरेको जनाएको छ।
बरामद गरिएको रकममध्ये १ हजार दरका ९०० थान नोट गरी जम्मा ९ लाख रुपैयाँ रहेको छ। पक्राउ परेका शाह र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।






