Categories समाचार

शंखधर शाख्व: पार्क सञ्चालनपछि वीरगन्जमा आकर्षण बढ्दो, स्थानीय सहभागिता उत्साहजनक

वीरगन्ज । वीरगन्ज महानगरपालिका–४ मा अवस्थित “शंखधर शाख्व: पार्क” नयाँ नाम, नयाँ स्वरूप र आधुनिक सुविधासहित औपचारिक रूपमा सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। लामो समयदेखि बन्द रहेको पार्क पुनः खुला भएसँगै यहाँ स्थानीयवासीको उपस्थिति उल्लेखनीय रूपमा बढ्न थालेको छ।

पार्क पुनःसञ्चालनसँगै नगरवासीले घुमफिर, परिवारसँग समय बिताउने र स्वास्थ्यसम्बन्धी गतिविधि गर्ने उपयुक्त स्थल पाएका छन्। पार्कभित्र चिया खाजा पसल, पानीको फोहोरा, खुला मञ्च, वनभोज स्थल, नृत्य स्थल, टेबल टेनिस कोर्ट, योग अभ्यास स्थल तथा ट्र्याक जस्ता विविध सुविधा उपलब्ध गराइएको छ।

Advertisement

यस पार्कले केवल मनोरञ्जनको अवसर मात्र नभई आयआर्जनको माध्यमसमेत प्रदान गरेको छ। चटपटे, चाट, आइसक्रिम, पापड बिक्रीदेखि फोटोग्राफीसम्मका साना व्यवसायमार्फत स्थानीयले रोजगारी सिर्जना गर्न थालेका छन्, जसले आर्थिक गतिविधिमा समेत टेवा पुर्‍याएको छ।

Advertisement

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पार्कलाई सौन्दर्यकरण परियोजनाभन्दा माथि उठाएर सामुदायिक जीवनशैली र सांस्कृतिक पहिचानसँग जोडिएको साझा थलोका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। उनका अनुसार, “यो पार्कलाई मनोरञ्जन, स्वास्थ्य र समुदायको केन्द्र बनाउँदै समृद्ध वीरगन्ज निर्माणमा योगदान पुर्‍याइनेछ।”

सुरक्षालाई ध्यानमा राख्दै पार्क चारैतिर पर्खालले घेरिएको छ। यसअघि लामो समय बन्द रहँदा स्थानीयले चाँडो सञ्चालनमा ल्याउन माग गर्दै आएका थिए। अहिले भने बिहानको हिँडाइदेखि साँझको व्यायाम, बालबालिकाको खेलकुददेखि पारिवारिक भेटघाटसम्मका लागि पार्क भरिभराउ हुन थालेको छ।

पार्कको पुनःसञ्चालनसँगै वीरगन्जमा खुला, हरियाली र व्यवस्थित सार्वजनिक स्थलको अभाव केही हदसम्म पूर्ति भएको विश्वास गरिएको छ। महानगरपालिकाले यसलाई दीर्घकालीन रूपमा संरक्षण र प्रभावकारी उपयोगका लागि स्थानीयवासीको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै “आफ्नो पार्क” भन्ने भावना विकास गर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *