Categories समाचार

प्रहरीको रणनीतिले शोभा यात्रा शान्तिपूर्ण रूपमा सम्पन्न, नेताहरू श्रेय लिन अघि

वीरगन्ज । विगतका वर्षहरूमा साम्प्रदायिक तनाव, झडप र कर्फ्यूको त्राससँग जोडिँदै आएको हनुमान जयन्ती शोभा यात्रा यस वर्ष भने पूर्ण रूपमा शान्तिपूर्ण र व्यवस्थित ढंगले सम्पन्न भएको छ। सुरक्षा चुनौतीका अनेकौँ आँकलनबीच पनि स्थानीय प्रशासन र पर्सा प्रहरीको सक्रियता तथा रणनीतिक तयारीले शहरलाई सम्भावित अशान्तिबाट जोगाएको हो।

अघिल्ला वर्षहरूमा संवेदनशील क्षेत्रमा सामान्य विवादले उग्र रूप लिँदा कर्फ्यूसम्मको अवस्था सिर्जना हुने गरेको थियो। त्यसले जनजीवन प्रभावित हुनुका साथै धार्मिक सहिष्णुतामा समेत असर पारेको इतिहास रहेको छ। तर यसपटक सुरक्षाकर्मीले ‘जिरो टोलरेन्स’ नीति अपनाउँदै कुनै पनि सम्भावित जोखिमलाई सुरुवातमै नियन्त्रण गरेका कारण त्यस्ता घटना दोहोरिन पाएनन्।

Advertisement

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकको नेतृत्वमा कन्ट्रोल रुमबाटै सीसीटीभी र ड्रोनमार्फत शोभा यात्राको निगरानी गरिएको थियो। र्‍यालीको प्रत्येक गतिविधिमा प्रत्यक्ष निगरानी राख्दै आवश्यक निर्देशन तत्कालै दिइएको प्रहरीले जनाएको छ। विशेष गरी संवेदनशील क्षेत्रहरूमा कडा सुरक्षा घेरा कायम गरिएको थियो।

Advertisement

यसक्रममा प्रहरीले र्‍यालीमा निषेधित सामग्री लैजान नदिने नीति कडाइका साथ लागू गर्दै तरबारजस्ता सामग्री बरामद गरेको छ भने छपकैया क्षेत्रबाट दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। सुरक्षामा खलल पुर्‍याउन सक्ने साना संकेतहरूलाई पनि समयमै नियन्त्रणमा लिँदा ठूलो घटना हुन नपाएको स्थानीयको भनाइ छ।

घण्टाघरबाट सुरु भएको र करिब ५० हजारभन्दा बढी सहभागी रहेको शोभा यात्रा साँझसम्म शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। स्थानीयवासीले यसपटकको व्यवस्थापनप्रति सन्तुष्टि व्यक्त गर्दै विगतको डर हटेको बताएका छन्।

यता, शोभा यात्रा सफल बनाउन सुरक्षा निकायको भूमिका निर्णायक रहेको बताइँदै गर्दा केही राजनीतिक व्यक्तित्व वा अन्य समूहहरूले श्रेय लिन खोजेको भन्दै आलोचना समेत सुरु भएको छ। सर्वसाधारणले भने यो सफलता मुख्यतः प्रहरी प्रशासनको सुझबुझ, संयम र प्रभावकारी परिचालनको परिणाम भएको धारणा व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *