Categories समाचार

तोकिएको स्थान बाहेक बजार नलगाउन वीरगंज महानगरको निर्देशन

वीरगंज । वीरगंज महानगरपालिका ले तोकिएको स्थान बाहेक अन्यत्र बजार सञ्चालन नगर्न व्यवसायीहरूलाई कडा निर्देशन दिएको छ। महानगरपालिकाले बजार व्यवस्थापनलाई व्यवस्थित, सुरक्षित तथा प्रभावकारी बनाउन विभिन्न स्थानमा आवश्यक पूर्वाधारसहित बजार स्थापना गरिसकेको जनाएको छ।

महानगरका अनुसार माइस्थान नजिक मिना बजार कम्प्लेक्स तथा छपकैयाँ (रेल्वे रोड) क्षेत्रमा तरकारी तथा फलफूल थोक बजार सञ्चालनमा ल्याइएको छ। साथै घण्टाघरस्थित वि.पी. उद्यान क्षेत्रमा जथाभावी रूपमा लाग्दै आएको बजारलाई व्यवस्थापन गर्ने उद्देश्यले उक्त बजारलाई छपकैयाँस्थित तोकिएको स्थानमा स्थानान्तरण गर्ने प्रयास गरिएको थियो।

Advertisement

तर, केही व्यवसायीहरूले महानगरले तोकेको स्थानमा नगई नयाँ बसपार्क नजिकको खाली जग्गा, पावरहाउस क्षेत्र, मुर्ती चोक, बुखार चोक, इदगाहा चोक तथा गीता मन्दिर आसपासका क्षेत्रमा अनधिकृत रूपमा बजार सञ्चालन गरिरहेको पाइएको छ। पटक–पटक सूचना जारी गर्दा समेत अटेर भइरहेको महानगरले जनाएको छ।

Advertisement

यसैबीच मधेस प्रदेश सरकार अन्तर्गत गृह, सञ्चार तथा कानुन मन्त्रालयले २२ चैतमा जारी गरेको परिपत्रअनुसार पनि बजारलाई जथाभावी सञ्चालन गर्न नदिई तोकिएको स्थानमा मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ।

महानगरपालिकाले सम्पूर्ण व्यवसायीहरूलाई तोकिएको स्थान बाहेक अन्यत्र बजार सञ्चालन नगर्न तथा हाल अनधिकृत रूपमा सञ्चालन भइरहेका बजारहरू तत्काल बन्द गरी तोकिएको स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको छ। अन्यथा प्रचलित कानून बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *