वीरगंज । महोत्तरीमा भीषण सडक दुर्घटना हुँदा आगलागीसमेत भई तीन विद्यार्थीको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार जलेश्वर–बर्दिबास सडकखण्ड अन्तर्गत एकडारा गाउँपालिका–५ बथनाहा क्षेत्रमा विपरीत दिशाबाट आएका दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
ठोक्किएलगत्तै दुवै मोटरसाइकलमा आगलागी हुँदा घटनास्थलमै तीन जनाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा परेका थप तीन विद्यार्थीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने एक जनाको अवस्था मध्यम रहेको बताइएको छ। उनीहरूको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
मृतक र घाइतेहरूको पहिचान हालसम्म खुल्न नसकेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र कुमार भट्टले जानकारी दिएका छन्। मोटरसाइकल पूर्ण रूपमा जलेका कारण नम्बर प्लेटसमेत चिनिन नसक्ने अवस्थामा पुगेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनामा परेका सबै विद्यार्थीहरू एसईई परीक्षा दिएर घर फर्किने क्रममा रहेका थिए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


