वीरगंज । पर्सा जिल्लामा जेन जि यूथ फोर्स पर्सा को नाममा भ्रामक सूचना फैलाउँदै नयाँ समिति गठन गर्ने प्रयास भएकोमा संगठनले गम्भीर आपत्ति जनाएको छ। केही व्यक्तिहरूले राजनीतिक फाइदा लिने उद्देश्यले सामाजिक सञ्जालमार्फत झुटो प्रचारप्रसार गरिरहेका छन्, जुन पूर्णतः असत्य र भ्रमपूर्ण रहेको स्पष्ट पारिएको छ।
संगठनले जनाएको छ कि जिल्ला समिति पहिले नै विधिवत् रूपमा गठन भइसकेको छ र पुनः नयाँ समिति गठन गर्ने प्रयास केवल राजनीतिक चलखेल र भ्रम फैलाउने उद्देश्यको हो। जसले आफूलाई अभियानको अगुवा भनेर प्रस्तुत गरिरहेका छन्, उनीहरू न त सम्बन्धित उमेर समूहमा पर्छन्, न त भदौ २३ गते सम्पन्न आन्दोलनमा सहभागी थिए।
संगठनले स्पष्ट पारेको छ कि भदौ २४ गते सरकारी सम्पत्तिमा भएको क्षतिको घटनासँग संगठनको कुनै सम्बन्ध छैन र उक्त गतिविधिमा संलग्न व्यक्तिहरू स्वतन्त्र रूपमा जिम्मेवार हुनेछन्।
जेन जि यूथ फोर्स पर्सा सधैं शान्तिपूर्ण, जिम्मेवार र सकारात्मक सामाजिक परिवर्तनको पक्षमा रहेको संगठनको भनाइ छ। संगठनको नाम दुरुपयोग गर्ने, भ्रम फैलाउने वा आन्दोलन बदनाम गर्ने कुनै पनि प्रयास सह्य नहुने र यस प्रकारका गतिविधि दोहोरिएमा कडा कदम चाल्ने चेतावनी जारी गरिएको छ।
संगठनले सबैलाई सचेत रहन र आन्दोलनलाई निजी स्वार्थ पूरा गर्ने माध्यम बनाउन नदिन आग्रह गरेको छ।


