वीरगंज । बहुअरी प्रिमियर लिग सिजन–२ को उपाधि बहुअरी सुपर जाइन्ट्सले जितेको छ। शनिबार वीरगंज-२४ बहुअरीस्थित शारदा माध्यमिक विद्यालयको क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक फाइनल खेलमा सुपर जाइन्ट्सले बहुअरी ब्लास्टर्सलाई ४४ रनले पराजित गर्दै ट्रफी आफ्नो नाममा पारेको हो। यसअघि लिग चरणमै उत्कृष्ट लयमा देखिएको सुपर जाइन्ट्सले फाइनलमा पनि त्यही प्रदर्शन दोहोर्यायो। प्रतियोगिताको एक खेलमा ब्लास्टर्सलाई ९ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको टोलीले अन्ततः उपाधिसमेत जित्दै आफ्नो दबदबा कायम राख्यो। फाइनल खेलमा सुपर जाइन्ट्सका मनोज सर्राफ नायक बने। उनले ब्याटिङतर्फ महत्वपूर्ण ३० रन जोड्दै टोलीलाई मजबुत अवस्थामा पुर्याए भने बलिङतर्फ ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिँदै विपक्षीलाई दबाबमा राखे। उनको उत्कृष्ट अलराउण्ड प्रदर्शनका लागि उनी ‘म्यान अफ द म्याच’ घोषित भए। ग्रामीण भेगमा युवाहरूको सक्रिय पहलमा सञ्चालन भएको यस प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेटप्रति उत्साह थप बढाएको छ। सीमित स्रोत–साधनका बीच पनि युवाहरूले देखाएको लगनशीलता र आयोजनाको व्यवस्थापनले गाउँमै प्रतिभा पहिचान र विकासको नयाँ सम्भावना उजागर गरेको छ। यस्तो पहलले खेलकुदमार्फत सकारात्मक सन्देश फैलाउँदै समुदायलाई एकताबद्ध बनाउने कामसमेत गरिरहेको छ।
Categories
खेलकुद
बहुअरी सुपर जाइन्ट्स च्याम्पियन, ग्रामीण युवाको पहलमा चम्कियो क्रिकेट प्रतियोगिता






