Categories समाचार

दशगजामा टाटा सफारी छाडेर चालक फरार, ३० किलोभन्दा बढी गाँजा बरामद

वीरगंज । नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेका छन्। बारा जिल्लासँग जोडिएको भारतीय सीमावर्ती झरोखर नजिक सोमबार साँझ करिब ५ बजे नियमित गस्तीका क्रममा शंकास्पद अवस्थामा रहेको टाटा सफारी गाडी फेला परेको हो।

सुरक्षाकर्मीले गाडी रोक्न संकेत गरेपछि चालक भने सवारी त्यत्तिकै छाडेर फरार भएका थिए। त्यसपछि गरिएको जाँचका क्रममा गाडीभित्र विभिन्न प्याकेटमा लुकाइ राखिएको ३० किलोभन्दा बढी गाँजा बरामद गरिएको भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जनाएको छ।

Advertisement

एसएसबीका अनुसार बीआर ०५ पी ७३१८ नम्बरको उक्त गाडीभित्र सवारी दर्ता प्रमाणपत्रसमेत भेटिएको छ। घटना सीमा स्तम्भ ३५७/०३ नजिकै भएको बताइएको छ।

Advertisement

एसएसबीका सहायक कमान्डेन्ट बिश्वजित तिवारीले बरामद गाँजा र सवारी नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जानकारी दिए। प्रवक्ता बिनित कुमार सिंहका अनुसार प्रारम्भिक अनुसन्धानले गाँजा नेपालतर्फको मकवानपुरबाट बारा हुँदै भारत लैजान खोजिएको हुन सक्ने संकेत गरेको छ।

घटनापछि फरार चालकको खोजी कार्य तीव्र पारिएको छ भने लागूऔषध ओसारपसारको सम्भावित सञ्जालबारे थप अनुसन्धान जारी रहेको सुरक्षाकर्मीले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *