वीरगञ्ज, पर्सा — वीरगंज महानगरपालिका ले सञ्चालन गर्ने सम्पूर्ण आयोजना तथा कार्यक्रमहरूमा रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार व्यक्तिहरूलाई अनिवार्य रूपमा समावेश गर्न निर्देशन दिइएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय को पत्र संख्या ०८२/८३, चलानी नं. १२७ तथा मिति २०८३/०१/०९ अनुसार प्राप्त निर्देशनलाई आधार मान्दै महानगरले यस्तो व्यवस्था लागू गर्न लागेको हो।
महानगरका प्रशासन व्यवस्थापन महाशाखा प्रमुख सुनिल कुमार कर्ण द्वारा जारी सूचनामा स्थानीय तहको श्रोतबाट सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरूमा दोहोरो लगानी नपर्ने सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ। साथै, बस्तु, सेवा, सामग्री तथा दक्ष–अर्धदक्ष जनशक्तिको प्रयोगमार्फत कार्यक्रमहरूलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
निर्देशनमा संघीय, प्रदेश, स्थानीय तह तथा विकास साझेदारबाट सञ्चालित कार्यक्रमहरूबीच समन्वय गर्दै स्थानीय आवश्यकता र अनुकूलताका आधारमा संयुक्त रूपमा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्नुपर्ने पनि जनाइएको छ।
महानगरले यस निर्णयमार्फत बेरोजगार सूचीकृत श्रमिकहरूलाई रोजगारीमा प्राथमिकता दिँदै सरकारी कार्यक्रमहरूको प्रभावकारिता बढाउने अपेक्षा गरेको छ।







