वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२ मा रहेको ऐतिहासिक छपकैया पोखरी संरक्षण अभियानमा सक्रिय भूमिका खेलेका अभियन्ताहरूलाई सम्मान गरिएको छ। स्थानीय अभियन्ता जफरुल मिया (जफर) सहित करिब ४० जनालाई महानगरपालिकाले एक विशेष कार्यक्रममार्फत सम्मान गरेको हो।
वर्षौंदेखि अतिक्रमणको जोखिममा परेको करिब ४ बिघा क्षेत्रफलमा फैलिएको उक्त पोखरी जोगाउन जफर नेतृत्वको टोलीले निरन्तर संघर्ष गर्दै आएको थियो। कानुनी प्रक्रिया, जनचेतना अभिवृद्धि तथा सामाजिक दबाबमार्फत उनीहरूले सार्वजनिक सम्पत्तिको संरक्षणमा उल्लेखनीय योगदान पुर्याएका थिए।
सम्मान समारोहमा महानगर प्रमुख राजेशमान सिंहले अभियन्ताहरूलाई सम्मानपत्र प्रदान गर्दै उनीहरूको पहलले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताए। सार्वजनिक सम्पत्तिको रक्षा गर्न नागरिकको सक्रियता कति महत्वपूर्ण हुन्छ भन्ने उदाहरण यस अभियानले प्रस्तुत गरेको उनले उल्लेख गरे।
कार्यक्रममा बोल्दै जफरुल मियाले प्राप्त सम्मानप्रति आभार व्यक्त गरे। उनले लामो संघर्षका क्रममा महानगरपालिकाबाट प्राप्त सहयोगप्रति धन्यवाद दिँदै सार्वजनिक सम्पत्तिको संरक्षणमा सबै नागरिक सचेत हुनुपर्ने धारणा राखे।
यसअघि पर्सा जिल्ला अदालतले चैत १७ गते गरेको फैसलामार्फत उक्त पोखरीलाई अतिक्रमणबाट मुक्त गर्दै सार्वजनिक सम्पत्तिको रूपमा कायम गरेको थियो। न्यायाधीश माधव घिमिरेको इजलासले अर्बौँ मूल्य बराबरको जग्गामाथि गरिएको अवैध दाबी खारेज गरेको हो।
यो निर्णय हासिल गर्न जफरुल मिया सहितको टोलीले एक दशकभन्दा बढी समय संघर्ष गर्नुपरेको थियो। उनीहरूले पुराना ठेक्का रसिद, नगर पञ्चायतका निर्णयहरू लगायत ऐतिहासिक प्रमाण संकलन गरी अदालतमा पेश गरेका थिए, जसले मुद्दाको निर्णयमा महत्वपूर्ण भूमिका खेले।
छपकैया पोखरी जोगाउने यो अभियानले सार्वजनिक सम्पत्ति संरक्षणमा नागरिकस्तरबाट पनि प्रभावकारी पहल सम्भव रहेको स्पष्ट सन्देश दिएको छ।






