वीरगंज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १,७२० जना सवारी चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा कुल ८ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १३६ जना चालक समातिएका छन् भने नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १२४ जनामाथि पनि कारबाही गरिएको छ। त्यस्तै, ट्राफिक संकेत उल्लङ्घन गर्ने १२९ र तीव्र गतिमा सवारी चलाउने १७५ जना पनि कारबाहीको दायरामा परेका छन्।
यस अवधिमा लेन अनुशासन पालना नगर्ने २०६, निषेधित क्षेत्रमा हर्न बजाउने २८ र सडक पेटीमा सवारी पार्किङ गर्ने ९२ जनालाई पनि कारबाही गरिएको छ। निर्धारित स्थानबाहिर यात्रु चढाउने तथा ओराल्ने २० जनासहित अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने ठूलो संख्यामा चालकहरूलाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले नियम उल्लङ्घन नगर्न तथा सुरक्षित यात्राका लागि सबै चालकलाई सचेत रहन आग्रह गरेको छ।






