वीरगंज । सुनसरीको बराहक्षेत्र क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। भारतीय नम्बर प्लेटको एम्बुलेन्स प्रयोग गरी अवैध रुपमा लागूऔषध ओसारपसार गर्न खोजिएको आशंकामा उक्त सवारी नियन्त्रणमा लिइएको हो।
मंगलबार बराहक्षेत्र नगरपालिका–२ पुल्ठेगौंडा बाट बीआर ०७ पीसी ४७६५ नम्बरको एम्बुलेन्स जाँच गर्दा प्लास्टिकका बोराभित्र लुकाइराखिएको अवस्थामा १४८ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्का का अनुसार एम्बुलेन्स चालक भारतको बिहार राज्य सुपोल जिल्ला वीरपुरका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र सोही स्थानका २१ वर्षीय मोहम्मद सदाम पक्राउ परेका छन्।
प्रहरीले एम्बुलेन्स प्रयोग गरी लागूऔषध भारततर्फ लैजान खोजिएको प्रारम्भिक अनुमान गरेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।






