वीरगंज । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको समन्वयमा सञ्चालन भइरहेको “लागू औषध प्रयोगकर्ता खोजी तथा सुधार अभियान २०८३” अन्तर्गत वीरगंजमा विशेष चेकजाँच अभियान सञ्चालन गरिएको छ।
शुक्रबार वीरगंज महानगरपालिका–१६, ईनर्वा क्षेत्रस्थित शंकराचार्य गेट नजिक स्वास्थ्यकर्मीको उपस्थितिसहित लागूऔषध परीक्षण किट प्रयोग गरी चेकपोष्ट स्थापना गरेर आकस्मिक चेकजाँच गरिएको प्रहरीले जनाएको छ।
सो क्रममा लागूऔषध सेवन गरी सार्वजनिक स्थलमा हिँडिरहेका ८ जना पुरुषलाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिक्रम सुबेदीले जानकारी दिएका छन्।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूको स्वास्थ्य परीक्षणका साथै आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। लागूऔषध दुव्र्यसन न्यूनीकरण, प्रयोगकर्ताको पहिचान तथा सुधारमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
प्रहरीले अभिभावक, स्थानीय समुदाय तथा सरोकारवाला निकायसँगको सहकार्यमा लागूऔषध नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाइने जनाएको छ।






