वीरगंज । सशस्त्र प्रहरी बल, पर्साले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।वीरगंज महानगरपालिका–१६ स्थित भन्सार मेनगेट क्षेत्रमा नियमित चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको अटोमा सवार दुई जनालाई लागुऔषधसहित पक्राउ गरिएको हो।
सीमा सुरक्षा गुल्म हेडक्वार्टर वीरगंजबाट DRUGS DETECTION तालिमप्राप्त कुकुरसहित खटिएको सशस्त्र प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका उनीहरूलाई चेकजाँच गर्दा ब्राउन सुगरजस्तो देखिने ५ ग्राम पदार्थ तथा सेतो हिरोइनजस्तो देखिने ०.३४ मिलिग्राम पदार्थ बरामद गरेको जनाएको छ।पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–११ सिमलटार निवासी २० वर्षीय सागर घिमिरे र सोही स्थानकी २३ वर्षीया पूजा जिम्बा रहेका छन्।बरामद लागुऔषधसहित दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय विर्ता मा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साले जनाएको छ।






