वीरगंज । पर्सा–१ का प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद (हरि) पन्त को सचिवालयले सामाजिक सञ्जाल तथा केही अनलाइन माध्यममा प्रकाशित सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै पन्तको नाम, तस्वीर तथा प्रतिष्ठासँग जोडेर सार्वजनिक गरिएका सामग्रीहरू पूर्ण रूपमा कपोलकल्पित, भ्रामक, तथ्यहीन र चरित्रहत्या गर्ने उद्देश्यले प्रेरित रहेको दाबी गरेको हो।
विज्ञप्तिमा अनलाइनमा उल्लेख गरिएका व्यवसाय तथा व्यावसायिक संस्थासँग सांसद पन्तको कुनै पनि प्रकारको सम्बन्ध नरहेको स्पष्ट पारिएको छ। तथ्य र प्रमाणबिना व्यक्तिको नाम, तस्वीर तथा सार्वजनिक छविलाई जोडेर गलत सूचना फैलाउनु कानुनी रूपमा दण्डनीय कार्य भएको सचिवालयको भनाइ छ।
सचिवालयका अनुसार यस्ता आधारहीन सामग्रीले व्यक्तिगत प्रतिष्ठा, सामाजिक सम्मान तथा राजनीतिक जीवनमा गम्भीर क्षति पुर्याउने प्रयास गरिएको देखिएको छ। त्यसैले सामग्री निर्माण, प्रकाशन, शेयर तथा प्रसारण गर्ने व्यक्ति वा संस्थालाई तत्काल सामग्री हटाउन, भ्रामक प्रचार रोक्न तथा सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गरिएको छ।
साथै, गलत मनसायले नियोजित रूपमा गरिएका गतिविधिविरुद्ध नेपालको संविधान, विद्युतीय कारोबार ऐन, मुलुकी अपराध संहिता तथा प्रचलित कानुनबमोजिम सम्बन्धित व्यक्ति, संस्था र माध्यमविरुद्ध कानुनी उपचारको प्रक्रिया सुरु भइसकेको सचिवालयले जनाएको छ।
पन्तको सचिवालयले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणलाई अपुष्ट र भ्रामक सामग्री शेयर नगर्न तथा जिम्मेवार सूचना प्रवाह गर्न पनि आग्रह गरेको छ।






