वीरगंज । पर्सामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि छुट्टै सेवा केन्द्र भवन सञ्चालनमा आएको छ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की ले जिल्ला प्रहरी कार्यालय पर्सा परिसरमा निर्माण गरिएको भवन उद्घाटन गर्दै नागरिकलाई छिटो, छरितो र न्यायपूर्ण सेवा दिन प्रहरी अझ जिम्मेवार बन्नुपर्ने बताएका छन्।
FCDO-UK को आर्थिक सहयोग तथा UNOPS अन्तर्गत निर्माण गरिएको उक्त भवन करिब दुई करोड रुपैयाँ लागतमा तयार गरिएको हो। नयाँ सेवा केन्द्रले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सुरक्षित, गोपनीय र पीडितमैत्री वातावरणमा सेवा दिन सहयोग पुग्ने विश्वास गरिएको छ।
उद्घाटन कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, पर्सा जिल्ला अदालतका जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मी, प्रमुख जिल्ला अधिकारी भोला दाहाल लगायत सुरक्षा निकाय, न्यायिक क्षेत्र र सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।






