वीरगञ्ज । पर्सा प्रहरीले ३ करोडभन्दा बढी जरिवाना तोकिएका राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा आज दिउँसो करिब २ः३० बजे फैसला कार्यान्वयन टोलीले फरार प्रतिवादी प्रविन्द्र साह गोढलाई पक्राउ गरेको जनाएको हो।
पर्सा जिल्ला अदालतको फैसलाअनुसार राजस्व चुहावट मुद्दामा ६ महिना कैद तथा ३ करोड १२ लाख ६० हजार ८० रुपैयाँ जरिवाना तोकिएका वीरगञ्ज महानगरपालिका–३१ निवासी ४२ वर्षीय गोढ लामो समयदेखि फरार रहेका थिए।
प्रहरीका अनुसार उनी लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ परेका हुन्। पक्राउपछि उनलाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।






