वीरगंज । वीरगंज महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरसभाको २०औँ अधिवेशनमा प्रस्तुत बजेट चालु आर्थिक वर्षको तुलनामा झण्डै १ अर्ब १९ करोड रुपैयाँ बढी रहेको छ।
बजेटमध्ये २ अर्ब ४० करोड ३४ लाख ६९ हजार रुपैयाँ चालु खर्च, १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार रुपैयाँ पुँजीगत खर्च तथा ५ करोड रुपैयाँ वित्तीय व्यवस्थापनतर्फ विनियोजन गरिएको छ।
संघीय अनुदान, आन्तरिक राजस्व, राजस्व बाँडफाँट, घरजग्गा रजिस्ट्रेशन शुल्क, गत वर्षको मौज्दात तथा नगर विकास कोषको ऋणमार्फत बजेट व्यवस्थापन गरिने महानगरले जनाएको छ।
आगामी वर्ष शिक्षा, स्वास्थ्य, सरसफाइ, कृषि, पर्यटन, उद्योग, वातावरण संरक्षण, गुणस्तरीय भौतिक पूर्वाधार निर्माण तथा प्रविधिमैत्री सेवा प्रवाहलाई बजेटको मुख्य प्राथमिकतामा राखिएको छ। बजेट प्रस्तुत हुनुअघि कार्यवाहक मेयर इम्तियाज आलमले नगरसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।


