वीरगंज । रौतहटको गरुडा नगरपालिकाबाट चोरी भएको २२० सिसीको पल्सर मोटरसाइकल प्रहरीले चोरी भएको करिब ३० मिनेटभित्रै बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यका अनुसार पक्राउ पर्नेमा गढीमाई नगरपालिका–६ निवासी २० वर्षीय अनिल कुमार साह र सोही स्थानका २० वर्षीय रामनारायण यादव रहेका छन्।
मंगलबार साँझ करिब ६ः३० बजे गरुडा नगरपालिका–४ स्थित एक घरअगाडि पार्किङ गरी राखिएको बा.प्र.०२–०४१ प ३८४९ नम्बरको २२० सिसी पल्सर मोटरसाइकल चोरी भएको सूचना प्रहरीले प्राप्त गरेको थियो।
सूचना लगत्तै प्रहरी चौकी धर्मपुरबाट खटिएको टोलीले गढीमाई नगरपालिका–६ को धर्मपुर क्षेत्रबाट बाहिरिने एकमात्र पुलमा निगरानी बढाएर चेकजाँच सुरु गरेको थियो। त्यसक्रममा साँझ ७ बजेतिर चोरी भएको मोटरसाइकलसहित दुवै युवकलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको हो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


