वीरगंज । आफूलाई प्रहरी भन्दै सर्वसाधारणलाई धम्क्याएर नगद तथा अन्य सामान लुटपाट गर्ने घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार असार ९ गते साँझ करिब ७ बजे काठमाडौं महानगरपालिका–१६ वनस्थलीमा डेरा गरी बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका–५ का ४६ वर्षीय शेरबहादुर मोक्तानको कोठामा घटना भएको थियो।
मोक्तानका चिनजानका साथी सर्लाही लालबन्दी नगरपालिका–८ खतिवडा चोकका ४३ वर्षीय धनबहादुर मोक्तान जग्गा खरिद गर्ने उद्देश्यले काठमाडौं आएका बेला ५/६ जनाको समूहले आफूहरू प्रहरी भएको भन्दै नियन्त्रणमा लिई हतकडी लगाएर डरत्रास देखाएको प्रहरीले जनाएको छ।
उक्त समूहले धनबहादुरसँग रहेको १० लाख ९५ हजार रुपैयाँ नगद, मोबाइल फोन तथा सिद्धार्थ बैंकका खाली चेकहरू लुटेर फरार भएको थियो।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले असार १४ गते काठमाडौंका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–३ का ४३ वर्षीय रामशरण दमाई, काठमाडौं टोखा नगरपालिका–१ का ३८ वर्षीय सविन खवास, पर्साको ठोरी गाउँपालिका–४ घर भई हाल काठमाडौं गौरीघाट बस्ने ४३ वर्षीया लक्ष्मी गोले तथा सिन्धुली घ्याङलेख गाउँपालिका–५ का ४६ वर्षीय शेरबहादुर मोक्तान रहेका छन्।
उनीहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


