वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभित्रका सार्वजनिक स्थानमा राखिएका राष्ट्रिय झण्डाको नियमित मर्मत, फेरबदल तथा संरक्षण गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षरसहित जारी परिपत्रमा जिल्लाका विभिन्न चोक, पुल, उद्यान तथा अन्य सार्वजनिक स्थलहरूमा स्थानीय तहबाट राखिएका नेपालको राष्ट्रिय झण्डा च्यातिएको, रङ उडेको तथा फोहोर अवस्थामा रहेको भन्ने जनगुनासो प्राप्त भएपछि प्रशासनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
परिपत्रमा नेपालको राष्ट्रिय झण्डा राष्ट्रको गौरव, स्वाभिमान र पहिचानको प्रतीक भएकाले यसको मर्यादा र सम्मान कायम राख्नु सबैको साझा संवैधानिक तथा नागरिक कर्तव्य भएको उल्लेख गरिएको छ। साथै, “राष्ट्रिय झण्डा र राष्ट्रिय गान प्रयोग सम्बन्धी कार्यविधि, २०६९” अनुसार सार्वजनिक स्थानमा प्रयोग गरिने झण्डा सधैं सफा, सग्लो र मर्यादित अवस्थामा हुनुपर्ने कानुनी व्यवस्था रहेको पनि स्मरण गराइएको छ।
प्रशासनले स्थानीय तहहरूलाई तत्काल सार्वजनिक स्थलमा राखिएका राष्ट्रिय झण्डाको निरीक्षण गरी च्यातिएका, रङ उडेका वा फोहोर भएका झण्डा हटाई तोकिएको मापदण्डअनुसार नयाँ झण्डा राख्न निर्देशन दिएको छ। त्यस्तै, झण्डाको अवस्थाबारे नियमित अनुगमन गर्ने प्रणाली विकास गर्न, पुराना वा मक्किएका झण्डालाई जथाभावी नफ्याँकी कार्यविधिअनुसार आदरपूर्वक र सुरक्षित रूपमा विसर्जन गर्न तथा राष्ट्रिय झण्डा राखिएका स्थानको सरसफाइ र सुरक्षाको पूर्ण जिम्मेवारी सम्बन्धित स्थानीय तहले लिन पनि परिपत्रमार्फत आग्रह गरिएको छ।


