सिरहा । सिरहाको लक्ष्मिपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल बसले किच्दा एक ५ वर्षीया बालिका र बसका सहचालकको घटनास्थलमै मृत्यु भएको छ।
विद्यार्थीलाई घरमा छोडेर विद्यालयतर्फ फर्कँदै गरेको को १ ख ३५९९ नम्बरको पायोनियर एजुकेशन एकेडेमीको बसबाट बालिकालाई झार्ने क्रममा बस अगाडि बढ्दा पछाडिको चक्काले किचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा बसका सहचालक लहान नगरपालिका–२२ निवासी २५ वर्षीय ओमप्रकाश यादव तथा सोही विद्यालयमा अध्ययनरत सप्तरीको बोधेबरसाइन नगरपालिका–८ काचन घर भई हाल मावलीको घर लक्ष्मिपुरपतारी–२ पर्सामा बस्दै आएकी ५ वर्षीया समिक्षा कुमारी साहको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा संलग्न बसलाई इलाका प्रहरी कार्यालय महेशपुरपतारले नियन्त्रणमा लिएको छ। दुर्घटनापछि फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।


