वीरगञ्ज । ‘संस्कार, सेवा र विकासका लागि युवा’ भन्ने मूल नाराका साथ वीरगञ्जस्थित सिद्धार्थ माध्यमिक विद्यालय (चिनीमिल) मा बिहीबार शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।
भारत सरकारको सहयोग तथा प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको समन्वयमा आयोजित कार्यक्रममा विद्यालयमा अध्यनरत १ सय जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको थियो। कार्यक्रमको उद्देश्य आर्थिक रूपमा विपन्न तथा आवश्यकतामा रहेका विद्यार्थीलाई अध्ययनमा थप सहजता पुर्याउनुका साथै शिक्षाप्रति उत्साहित बनाउनु रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद्, नेपालका राष्ट्रिय उपाध्यक्ष लक्ष्मी कर्णले अध्यक्षता गरेकी थिइन् । प्रमुख अतिथिका रूपमा सिद्धार्थ माध्यमिक विद्यालय, चिनीमिलका प्रधानाध्यापक विनोद मेहताको उपस्थिति रहेको थियो।
यस्तै, विशिष्ट अतिथिका रूपमा प्राज्ञिक विद्यार्थी परिषद्, नेपालकी राष्ट्रिय छात्रा प्रमुख डा. सुष्मा तिवारी तथा ‘सेवा र विकासका लागि युवा’ संस्थाका प्रदेश अध्यक्ष गौरव बर्मा सहभागी भएका थिए।
कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद्का केन्द्रीय सदस्य घनश्याम नायक, विद्यालयका शिक्षक–शिक्षिका तथा अन्य अतिथिहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन विद्यालय संयोजक सन्नी दुबेले गरेका थिए।
वक्ताहरूले शिक्षा नै समाज रूपान्तरणको प्रमुख आधार भएको उल्लेख गर्दै यस्ता सामाजिक तथा शैक्षिक सहयोगमूलक कार्यक्रमले विद्यार्थीलाई अध्ययनमा थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। साथै, आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाइएको थियो।


