वीरगंज । कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई जिल्ला अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार भण्डारीलाई भीमदत्त नगरपालिका–१८ कटान क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणसँग सम्बन्धित विषयमा प्रकाशित समाचारका कारण दायर भएको गाली बेइज्जती मुद्दामा कञ्चनपुर जिल्ला अदालतले २०८२ साल जेठ १ गते भण्डारीलाई दोषी ठहर गरेको थियो।
न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उनलाई एक महिना कैद, १० हजार रुपैयाँ जरिवाना तथा एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको थियो। सोही फैसला कार्यान्वयनका लागि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।
यो मुद्दा कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज बिष्टका छोरा किरण बिष्टले दायर गरेका थिए। उनले निर्मला पन्त हत्या प्रकरणमा तथ्यहीन रूपमा आफ्नो नाम जोडेर समाचार प्रकाशित गरिएको दाबी गर्दै अदालतमा गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए।
२०७५ साल साउन १० गते साथीको घरमा पढ्न गएको भन्दै घरबाट निस्केकी १३ वर्षीया निर्मला पन्त भोलिपल्ट भीमदत्त नगरपालिकास्थित निम्बुखेडा खोला किनारको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्। देशभर व्यापक चर्चा र विरोधका बीच अनुसन्धान भए पनि उक्त घटनाका वास्तविक दोषी हालसम्म पहिचान हुन सकेका छैनन्।


