आजकाज अधिकांशको प्रेमसम्बन्ध सामाजिक सञ्जालबाट सुरु हुने गरेको छ । यसरी सुरु भएको सम्बन्ध कसैको राम्रैसँग अघि बढिरहेको हुन्छ भने कसैको बीचैमा टुट्छ । कुनै–कुनै सम्बन्धमा रोचक कहानीहरू देखापर्छन् त कतिपय धोकाधडी तथा अपराधमा गएर टुंगिने गरेका छन् ।
भारतमा घटेको यस्तै खाले एक घटनाले अहिले चर्चामा आएको छ ।
एक युवक र ‘युवती’ बीच सामाजिक सञ्जालबाट प्रेम बस्छ । युवकले ती व्यक्तिलाई सिन्दुर हालेर पत्नी पनि बनाउँछन् । केही समयसँगै बसेपछि ती व्यक्ति केटा भएको पत्ता लाग्छ । अनि विवाद बढ्दै जाँदा सम्बन्ध हत्यामा परिणत हुन्छ ।
शव भेटिएपछि खुल्यो रहस्य
जुन २५ मा गुजरातको राजकोटस्थित मस्कट गेट रेलवेको पर्खालनजिकै महिलाको लुगा लगाएको एक शव फेला पार्यो । शव कुहिएको अवस्थामा थियो । प्रारम्भिक अनुसन्धानमा कुनै दुर्घटनावस मृत्यु भएको ठानिएको थियो ।
पोस्टमार्टम गर्दा मृतकको टाउकोमा गम्भीर चोट लागेको रिपोर्ट आयो । त्यो दुर्घटना नभई हत्या भएको निष्कर्ष प्रहरीले निकाल्यो ।
प्रहरीले फरेन्सिक रिपोर्ट, त्यस क्षेत्रको सीसीटिभी फुटेज, स्थानीयको बयान आदिका आधारमा अनुसन्धान अघि बढायो । अनुसन्धानपछि राजकोटकै एक कारखानामा काम गर्ने २० वर्षीय पियुष कुमार खरवारलाई पक्राउ गरियो । प्रहरीले केरकार गर्दा पियुष कुमारले आफ्नो कसुर स्वीकार गरे ।
प्रेमदेखि हत्यासम्म
पियुष कुमारको बयानअनुसार हत्या गरिएका व्यक्तिसँग उनको ३ वर्षअघि देखि सम्बन्ध थियो । उत्तर प्रदेशका पियुषकुमार कामको सिलसिलामा हैदरावादमा रहँदा सामाजिक सञ्जालमा केटीको रुपमा उनले ती व्यक्तिलाई भेटेका थिए ।
फेसबुकमा ‘निशा’ र इन्स्टाग्राममा .‘पूनम’ नाम राखेका ती व्यक्तिसँग पियुष कुमारको कुराकानी हुन थाल्यो । तर ती व्यक्तिको आधिकारिक नाम चन्दन कुमार थियो । उनी पियुष कुमारसँग केटीको रूपमा प्रस्तुत भएका थिए । यसरी सम्बन्ध अघि बढ्दै गयो । केही समयदेखि उनीहरू सँगै बस्न थाले । पियुषले केटीको भेषमा रहेका चन्दन कुमारलाई सिन्दुर समेत हालेर पत्नीको रूपमा स्वीकार गरेका थिए ।
पियुष कुमारले शारीरिक सम्बन्धका लागि गरेको आग्रहलाई उनले बहाना बनाएर टारिरहेका थिए ।
आफूले केही निश्चित समयसम्म शारीरिक सम्बन्ध नराख्ने भनेर धार्मिक प्रतिज्ञा गरेको र त्यो प्रतिज्ञा सकिएपछि सम्बन्ध सुरु गर्ने बताएका थिए ।
एक दिन पियुषले चन्दनलाई दाह्री काटेको देखेपछि उसको वास्तविकता पत्ता लागेको थियो । आफूले सिन्दुर हालेर पत्नी बनाएको व्यक्ति समलिंगी सम्बन्ध चाहने पुरुष भएको थाहा पाएपछि पियुष उनीबाट टाढिन खोजे ।
उनी चन्दनलाई छोडेर उत्तर प्रदेश भागे तर चन्दनले त्यहीँसम्म पछ्याए । त्यहाँबाट पनि भागेर राजस्थान हुँदै राजकोटसम्म पुग्दा पनि चन्दनले उनको साथ छाडेनन् ।
राजकोटको पडवालास्थित एक कारखानामा पियुष काम गर्थे । गत जुन २१ .मा त्यही कारखानामा दुई जनाको झगडा परेको थियो । झगडापछि पियुषले चन्दनलाई फकाएर रेलवे ट्र्याक नजिकैको एकान्त ठाउँमा लगे । त्यसपछि ढुंगाले लगातार टाउकोमा हानेर हत्या गरे ।
हत्यापछि ढुंगामुति शव लुकाएर उनी आफ्नो काममा फर्किएका थिए ।
राजकोट ग्रामीण प्रहरी अधीक्षक विजय सिंह गुर्जरले भने कि फरेन्सिक प्रमाण, सीसीटीभी फुटेज र साक्षीहरूको बयानको आधारमा आरोपीलाई पक्राउ गरिएको थियो।
राजकोटका ग्रामीण प्रहरी सुपरिटेन्डेन्ट विजय सिंह गुर्जरका अनुसार यी युवकविरुद्ध भारतीय न्याय संहिता (हत्या) को धारा १०३(१) अन्तर्गत मुद्दा दर्ता गरिएको छ, र थप अनुसन्धान भइरहेको छ ।


