वीरगञ्ज । काठमाडौंको जम्बुडाँडा क्षेत्रमा स्रोत नखुलेको करिब ४० लाख रुपैयाँ नगदसहित बाराका एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार दिउँसो करिब २:४५ बजे जम्बुडाँडास्थित पहेँलो पुल नजिक शङ्कास्पद अवस्थामा झोला बोकेर हिँडिरहेका बाराको पचरौता नगरपालिका–७ स्थायी घर भई हाल काठमाडौंको कालीमाटी बस्दै आएका २३ वर्षीय मनमोहन साह कलवारलाई प्रहरीले चेकजाँच गरेको थियो।
जाँचका क्रममा उनको साथबाट स्रोत पुष्टि गर्न नसकिएको नेपाली नगद रु. ३९ लाख ४१ हजार ६२० बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन्। हाल यस विषयमा प्रहरी वृत्त बौद्धले अनुसन्धान अघि बढाइरहेको प्रहरीले जनाएको छ।


