वीरगञ्ज । पर्सामा सवारी साधनमा अनधिकृत रूपमा जडान गरिएका कालो सिसा (ब्ल्याक फिल्म) र कालो स्टिकर हटाउने अभियानलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले थप प्रभावकारी बनाएको छ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठको निर्देशनमा सञ्चालन भइरहेको अभियानअन्तर्गत विभिन्न निजी तथा सार्वजनिक सवारी साधनमा जडान गरिएका कालो सिसा र स्टिकर हटाइएको ट्राफिक प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ ले सम्बन्धित निकायको स्वीकृतिबिना सवारी साधनको रङ, स्वरूप, इन्जिन, चेसिस वा अन्य संरचनामा परिवर्तन गर्न रोक लगाएको छ। सोही कानुनी व्यवस्थाको कार्यान्वयनका लागि अनधिकृत रूपमा प्रयोग गरिएका कालो सिसा तथा स्टिकर हटाउने अभियान सञ्चालन गरिएको हो।
ट्राफिक प्रहरीको भनाइमा कालो सिसा प्रयोग भएका सवारी साधनभित्रको गतिविधि बाहिरबाट स्पष्ट रूपमा देख्न नसकिने हुँदा सुरक्षा निगरानी, अपराध नियन्त्रण तथा अनुसन्धानमा कठिनाइ हुने गरेको छ। यस्ता सामग्रीको दुरुपयोगबाट आपराधिक गतिविधि लुकाउने सम्भावना बढ्ने भएकाले सार्वजनिक सुरक्षा र शान्ति व्यवस्थालाई ध्यानमा राखेर अभियानलाई तीव्रता दिइएको हो।


