Categories समाचार

पेट्रोलपम्प मनपरी बन्द गरे १० लाखसम्म जरिवाना

वीरगञ्ज । अब कुनै पनि पेट्रोलपम्पले मनपरी रूपमा सेवा बन्द गरेर कृत्रिम इन्धन अभाव गराए कडा कारबाही भोग्नुपर्ने भएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ संशोधन गर्दै पेट्रोलपम्प बन्द गर्ने व्यवसायीलाई ३ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना तथा ५ देखि १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गर्ने व्यवस्था लागू गरेको हो।

मंगलबार पेट्रोलियम पदार्थको मूल्य घट्ने अनुमानमा धेरै व्यवसायीले निगमको डिपोबाट इन्धन नउठाएपछि बुधबार देशभर इन्धन आपूर्तिमा समस्या देखिएको थियो। त्यसक्रममा कतिपय पेट्रोलपम्पमा पेट्रोल र डिजेल अभाव भएपछि उपभोक्ताले सास्ती व्यहोर्नुपरेको थियो।

Advertisement

घटनापछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले अत्यावश्यक वस्तुको आपूर्तिमा अवरोध सिर्जना गर्ने व्यवसायीमाथि कडा कारबाही गर्न सकिने कानुनी व्यवस्था तत्काल तयार गर्न निर्देशन दिएकी थिइन्। मन्त्रीको निर्देशनपछि बुधबार साँझ बसेको नेपाल आयल निगमको सञ्चालक समिति बैठकले विनियमावली संशोधन गर्ने निर्णय गरेको हो।

Advertisement

संशोधित व्यवस्थाअनुसार अब कुनै पनि बिक्रेताले पेट्रोलपम्पमा नोजल ‘ड्राई’ हुने अवस्था सिर्जना गरी इन्धन उपलब्ध नगराउन पाउने छैन। पहिलो पटक यस्तो कसुर गरे ३ लाख रुपैयाँ जरिवाना र ५ दिनसम्म डिपोबाट इन्धन आपूर्ति रोक्का हुनेछ। दोस्रो पटक दोहोरिए ६ लाख रुपैयाँ जरिवाना र १० दिन आपूर्ति बन्द गरिनेछ भने तेस्रो पटक पुनः उल्लङ्घन गरे १० लाख रुपैयाँ जरिवाना सहित १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गरिने व्यवस्था गरिएको छ।

नयाँ कानुनी व्यवस्थासँगै अब उचित कारणबिना पेट्रोलपम्प बन्द गरी कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि तत्काल कारबाही गर्न सकिने कानुनी आधार बनेको नेपाल आयल निगमले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *