Categories समाचार

कार्यकक्षमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट

वीरगञ्ज । चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि आफ्नै कार्यकक्षभित्र निर्माण व्यवसायीको समूहले कुटपिट गरेको घटना सार्वजनिक भएको छ। घटनापछि गाउँपालिकाको सेवा प्रवाह प्रभावित भएको छ भने कर्मचारीहरूले सुरक्षाको माग गर्दै कामकाज बन्द गरेका छन्।

गाउँपालिकाका अनुसार बिहीबार बिहान करिब ११ बजे किङफिसर कन्सट्रक्सनका सञ्चालक लालबहादुर तामाङसहित ६ जनाको समूह कार्यालयमा प्रवेश गरी प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि हातपात गरेको हो।

Advertisement

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी चन्द्रभूषण यादवले आक्रमणमा घाइते भएका बस्नेतलाई इच्छाकामना आधारभूत अस्पतालमा उपचारका लागि भर्ना गरिएको जानकारी दिएका छन्। प्रहरीका अनुसार उनको टाउको, नाक, मुख तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।

Advertisement

प्रारम्भिक जानकारीअनुसार खोलाबाट ढुंगागिट्टी उत्खननसम्बन्धी विवादको विषयमा गाउँपालिकाले जिल्ला अदालत चितवनबाट आफ्नो पक्षमा फैसला पाएपछि त्यसको प्रतिशोधस्वरूप आक्रमण गरिएको हुन सक्ने गाउँपालिकाका कर्मचारीहरूको दाबी छ। सो मुद्दाको सुनुवाइ बुधबार सम्पन्न भएको थियो।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा घटनाको कारणबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
घटनापछि गाउँपालिकाका कर्मचारीहरूले आफूहरू असुरक्षित महसुस गरेको भन्दै सामूहिक रूपमा कामकाज बन्द गरेका छन्।

उनीहरूले दोषीमाथि कडा कानुनी कारबाही र कार्यालयमा सुरक्षित कार्य वातावरणको सुनिश्चितता नभएसम्म नियमित सेवा सञ्चालन गर्न नसकिने चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *