वीरगञ्ज । ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगर वीरगञ्जको आयोजनामा सामुदायिक साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठसँग परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेताको अध्यक्षतामा आयोजित कार्यक्रममा हालै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्न आएका प्रहरी निरीक्षक श्रेष्ठलाई स्वागत तथा परिचय गराइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि रुगटा वेलफेयर सोसाइटीका अध्यक्ष तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका सल्लाहकार सुरेश रुगटा रहेका थिए।
कार्यक्रममा ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, दुर्घटना न्यूनीकरण तथा सामुदायिक–प्रहरी साझेदारीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। सहभागीहरूले ट्राफिक अनुशासन कायम गर्न नागरिक र प्रहरीबीचको सहकार्यलाई थप सुदृढ बनाउन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका पदाधिकारी, सदस्य, समाजसेवी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
अवसरमा अध्यक्ष खेताले समुदाय र प्रहरीबीचको समन्वयले सुरक्षित, व्यवस्थित र अनुशासित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। प्रहरी निरीक्षक श्रेष्ठले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय समुदाय, संघसंस्था तथा नागरिकसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।


