वीरगञ्ज । एलाइड युथ सोसाइटी, वीरगञ्जले आफ्नो पाँचौँ वार्षिकोत्सव आदर्शनगरस्थित त्रिशला होटलमा भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमको अवसरमा समाजसेवा, पत्रकारिता तथा विभिन्न सामाजिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गर्नुका साथै नयाँ कार्यसमितिको घोषणा पनि गरिएको छ।
संस्थापक अध्यक्ष ओमकुमार झाको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका गणपति एसपी मोहन बस्नेत सहभागी थिए। कार्यक्रम मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा संस्थाले विगत पाँच वर्षदेखि युवा सशक्तीकरण, समाजसेवा र सामाजिक उत्तरदायित्वका क्षेत्रमा सञ्चालन गर्दै आएका गतिविधि तथा उपलब्धिबारे जानकारी गराएको थियो। वक्ताहरूले युवाको सक्रिय सहभागिता र सामाजिक अभियानलाई निरन्तरता दिन एलाइड युथ सोसाइटीले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।
वार्षिकोत्सवकै क्रममा प्रद्युमन सर्राफको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई अध्यक्ष देवेश गुप्ताले पद तथा गोपनीयताको शपथ गराएका थिए।
कार्यक्रममा विभिन्न सामाजिक संघसंस्था, बुद्धिजीवी, समाजसेवी, युवा तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले एलाइड युथ सोसाइटीले समाजमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा रचनात्मक अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउन सुझाव दिएका थिए।
समापनका अवसरमा संस्थापक अध्यक्ष झाले संस्थाको पाँच वर्षे यात्रालाई सफल बनाउन सहयोग गर्ने सदस्य, शुभेच्छुक, सञ्चारकर्मी तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी सामाजिक अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाए।


