Categories एजेन्सी

भारतमा आधार कार्ड बनाएर सरकारी लाभ लिइरहेका २७ नेपालीविरुद्ध मुद्दा दर्ता

वीरगंज । भारतको उत्तर प्रदेशस्थित बलरामपुर जिल्लामा भारत र नेपाल दुवै देशको नागरिकता तथा परिचयसम्बन्धी कागजात राखेको आरोपमा सीमावर्ती जरवा थाना क्षेत्रका २७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। प्रहरीका अनुसार उनीहरूले भारतीय सरकारी योजनाहरूको समेत लाभ लिएको आरोप छ।

बलरामपुरका प्रहरी प्रमुख (एसपी) विकास कुमारका अनुसार जिल्ला अधिकारी (डीएम) को उजुरीपछि घटनाबारे अनुसन्धान गरिएको थियो। जिल्ला अधिकारीको पत्रका आधारमा गरिएको छानबिन प्रतिवेदनपछि उनीहरूमाथि कानुनी कारबाही अघि बढाइएको हो।

Advertisement

अनुसन्धानका क्रममा नेपालको दाङ जिल्लाको कोइलाबास क्षेत्रका केही व्यक्तिले आफूलाई बलरामपुरको बालापुर, तुलसीपुर क्षेत्र तथा शीतलापुर रिजवान गल्लीका बासिन्दा भनेर देखाई आधार कार्ड, मतदाता परिचयपत्रलगायत अन्य भारतीय कागजात बनाएको र सरकारी योजनाको लाभ लिएको पाइएको प्रहरीले जनाएको भारतीय सञ्चारमाध्यम इन्डियाटिभीमा प्रकाशित समाचारमा उल्लेख छ।

Advertisement

एसपी विकास कुमारका अनुसार मुद्दा दर्ता गरिएका व्यक्तिहरूको नाम भारत र नेपाल दुवै देशको मतदाता नामावलीमा भेटिएको छ। अनुसन्धानका क्रममा सूचीमा रहेका अब्दुल रहमान (पिता कल्लू) अनवरडीह गाउँको बालापुरमा नबस्ने तथा अब्दुल अजीज सिद्दीकीको केही महिनाअघि नै मृत्यु भइसकेको भए पनि उनीहरूको नाम विभिन्न सरकारी अभिलेखमा कायम रहेको पाइएको छ, जसले घटनालाई अझ गम्भीर बनाएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले सम्बन्धित व्यक्तिहरूको नाम नेपाल र भारत दुवै देशको मतदाता सूचीमा रहेको देखाएको छ। साथै आधार कार्ड र अन्य भारतीय कागजात बनाएर सरकारी योजनाको लाभ लिएको तथ्य पनि खुलेको छ। यो प्रकरण पहिचान लुकाउने, भारतीय सरकारी कागजातको दुरुपयोग गर्ने तथा सरकारी अभिलेखमा गलत विवरण दर्ता गराउनेसँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ।

जरवा प्रहरीले सम्बन्धित कानुनी धाराअन्तर्गत मुद्दा दर्ता गरी विस्तृत अनुसन्धान सुरु गरेको छ। एसपी विकास कुमारका अनुसार सबै कागजातको प्रमाणीकरण भइरहेको छ र सम्बन्धित विभागका अभिलेखसँग विवरण मिलाएर थप अनुसन्धान अघि बढाइएको छ। अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा आवश्यक कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *