Categories समाचार

कलैया यातायात कार्यालयका प्रमुखले कुटे सेवाग्राही, ट्राफिक हेरेको हेरै

बारा । बारास्थित यातायात व्यवस्था कार्यालय, कलैयाका कार्यालय प्रमुख चिन्तन आचार्यमाथि एक सेवाग्राहीमाथि कुटपिट गरेको आरोप लागेको छ। घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसको व्यापक चर्चा भइरहेको छ।

प्रत्यक्षदर्शीका अनुसार घटना हुँदा ट्राफिक प्रहरीसमेत घटनास्थलमा उपस्थित थिए। तर, तत्काल प्रभावकारी हस्तक्षेप नभएको भन्दै केही स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा ट्राफिक प्रहरीले कार्यालय प्रमुखलाई संरक्षण गरेको आरोपसमेत लगाइएको भए पनि यसबारे सम्बन्धित निकायले आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

Advertisement

यातायात व्यवस्था कार्यालय, कलैया विगत केही वर्षदेखि सेवाप्रवाहमा ढिलासुस्ती, बिचौलियाको प्रभाव, अनियमितता तथा सेवाग्राहीलाई सास्ती दिने गुनासोका कारण पटक–पटक विवादमा पर्दै आएको छ। यद्यपि, ती आरोपहरू कानुनी रूपमा पुष्टि भएका छैनन्।

Advertisement

कार्यालय प्रमुख आचार्यमाथि चालक अनुमति पत्र (लाइसेन्स) लगायतका सेवामा बिचौलियामार्फत प्रभाव जमाउने गरेको आरोपसमेत लाग्दै आएको छ। उनी मन्त्रीको निकट रहेको भन्दै पुनः यही कार्यालयमा काजमा आउने चर्चा हुने गरेको तथा मन्त्रीको नाम प्रयोग गरेर चन्दा असुली गरेको दाबीसमेत गरिए पनि यी आरोपहरू स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।

स्थानीय नागरिकले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र सरकारी कार्यालयमा हुने बिचौलियाको प्रभाव अन्त्य गर्दै सेवाग्राहीमैत्री वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *