Categories समाचार

यात्रु तान्ने प्रतिस्पर्धा उग्रिँदा अटोचालकबीच झडप, एक जनाको कान चुँडियो

वीरगंज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित टेढा रोडमा यात्रु चढाउने विषयमा दुई अटोचालकबीच भएको विवाद हिंसात्मक बनेपछि एक चालक गम्भीर घाइते भएका छन्। झडपमा एक जनाको कान चुँडिएको छ भने प्रहरीले घटनामा संलग्न दुवै चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

इलाका प्रहरी कार्यालय जीतपुरका अनुसार आइतबार भएको घटनामा घाइते हुने अटोचालक गोविन्द बस्नेत हुन्। उनको एउटा कान चुँडिनुका साथै शरीरका विभिन्न भागमा चोट लागेको छ। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

Advertisement

प्रत्यक्षदर्शीका अनुसार टेढा रोडमा पर्साका विभिन्न ग्रामीण गन्तव्यका यात्रु कुरिरहेका अटोचालकहरूबीच एउटै यात्रु आफ्नो सवारीमा चढाउने विषयमा भनाभन सुरु भएको थियो। केही समयमै विवादले उग्र रूप लिँदै दुवै पक्षबीच हात हालाहाल भएको थियो।

Advertisement

स्थानीयका अनुसार झडपका क्रममा अर्का चालक रामबहादुर श्रेष्ठले धकेलेपछि गोविन्द बस्नेत नजिकै पार्किङ गरिएको मोटरसाइकलमा ठोक्किएका थिए। मोटरसाइकलको धारिलो भाग कानमा लाग्दा उनको एउटा कान चुँडिएको थियो। घटनापछि उनी रगताम्मे अवस्थामा ढलेका थिए। स्थानीयवासीले तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले झडपमा संलग्न दुवै चालकलाई नियन्त्रणमा लिनुका साथै उनीहरूले चलाइरहेका अटो पनि नियन्त्रणमा राखेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार टेढा रोड क्षेत्रमा यात्रु तान्ने प्रतिस्पर्धा पछिल्लो समय तीव्र बन्दै गएको छ। बस, म्याजिक र अटोचालकबीच यात्रु चढाउने विषयमा हुने अस्वस्थ प्रतिस्पर्धा, तोकिएको पार्किङस्थलभन्दा बाहिर सवारी रोक्ने, पालो नमानी यात्रु चढाउने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने प्रवृत्तिका कारण यस्ता घटना दोहोरिने गरेको उनीहरूको भनाइ छ।

स्थानीयवासीले सार्वजनिक यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउन नियमित अनुगमन, तोकिएको स्थानबाट मात्रै यात्रु चढाउने व्यवस्था कडाइका साथ लागू गर्न तथा चालकहरूलाई अनुशासित बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *