वीरगञ्ज । पर्सा प्रहरीले १०२ किलो ६३८ ग्राम गाँजासहित एक भारतीय नागरिक र भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा असार २१ गते राति करिब ११ बजे जगरनाथपुर गाउँपालिका–२ स्थित भित्री इनर्वा जाने चोकमा इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी टोलीले भारततर्फ जाँदै गरेको BR 01 CU 3544 नम्बरको सेतो रंगको स्पोर्ट्स कार रोकी जाँच गरेको थियो।
खानतलासीका क्रममा कारभित्र लुकाइछिपाइ राखिएको १० वटा पोकाबाट १०२ केजी ६३८ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
घटनामा भारतको बिहार राज्य, पश्चिम चम्पारण (बेतिया–नवलपुर) निवासी ३२ वर्षीय गुडु बर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।


