वीरगंज। नेपाली कांग्रेसकी सांसद सिता थपलिया उर्मिलाले पर्साको ठोरी सीमा नाकामा देखिएको समस्याले स्थानीय पर्यटन व्यवसायमा गम्भीर असर परेको भन्दै तत्काल समाधान गर्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले ठोरी नाकामा भन्सार कार्यालयको भवन भए पनि आवश्यक कर्मचारीको अभावका कारण भारतीय पर्यटकका सवारी साधनको आवागमन प्रभावित भएको बताइन्। यसले सीमा क्षेत्रको पर्यटन व्यवसाय धराशायी बन्दै गएको उनको भनाइ थियो।
उनले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिपछि नेपाल–भारत सीमावर्ती क्षेत्रमा थप जटिलता देखिएको दाबी गर्दै ठोरी नाकामा देखिएको अवरोध हटाउन गृह मन्त्रालयले तत्काल आवश्यक कर्मचारी खटाई समस्या समाधान गर्नुपर्नेमा जोड दिइन्।
सांसद थपलियाले सरकारको १०० दिनको कार्यकालप्रति पनि असन्तुष्टि व्यक्त गरिन्। उनले सरकारले सुशासन, सेवा प्रवाह र जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै महँगी नियन्त्रण, सुकुम्बासी समस्या समाधान तथा ‘जेनजी’ आन्दोलनसँग भएको १० बुँदे सहमति कार्यान्वयनमा समेत सरकार प्रभावकारी रूपमा अघि बढ्न नसकेको टिप्पणी गरिन्।


