Categories समाचार

नक्कली नागरिकता बनाउने आरोपमा विराटनगरबाट दुई जना पक्राउ

विराटनगर । नक्कली नेपाली नागरिकता बनाउने तथा त्यससम्बन्धी कागजात तयार पार्ने आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ स्थायी घर भई हाल विराटनगर महानगरपालिका–१४ बस्दै आएकी ३० वर्षीया मनिषा कुमारी कामत राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय, मोरङ पुगेकी थिइन्। त्यस क्रममा उनले प्रस्तुत गरेको नेपाली नागरिकता शंकास्पद देखिएपछि अनुसन्धान अघि बढाइएको थियो।

Advertisement

अनुसन्धानका क्रममा उक्त नागरिकताका सिफारिसकर्ता विराटनगर महानगरपालिका–५ का ३८ वर्षीय धनदेव राजवंशी र विराटनगर–११ का ६१ वर्षीय अशोक कुमार श्रेष्ठ संलग्न रहेको खुलेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

Advertisement

प्रहरीले विराटनगर–११ स्थित धनदेव राजवंशीले सञ्चालन गर्दै आएको न्यू डोली फोटो सर्भिसेज मा खानतलासी गर्दा विभिन्न व्यक्तिका नाममा जारी १२ थान नेपाली नागरिकता प्रमाणपत्र, २ थान सवारी चालक अनुमति पत्र, २ वटा मोबाइल, १ थान कम्प्युटर सीपीयू, रु. ३,५४० नगद, १० वटा खाली जन्मदर्ता फाराम, १ थान विवाह दर्ता, १ थान मृत्यु दर्ता तथा ‘न्यू डोली फोटो सर्भिसेज विराटनगर’ लेखिएको १ थान स्ट्याम्प बरामद गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध नक्कली सरकारी कागजात तयार गरी प्रयोग गरेको आरोपमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *