वीरगञ्ज । वीरगञ्जस्थित लिटल एन्जल बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि इलेक्ट्रोनिक मतदान प्रणालीमार्फत निर्वाचित विद्यार्थी नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको छ। हेड ब्वाय, हेड गर्ल, हाउस क्याप्टेन, अनुशासन प्रमुख, खेलकुद संयोजकलगायत विभिन्न पदमा निर्वाचित विद्यार्थीलाई ब्याज वितरण तथा शपथग्रहण गराउँदै विद्यालयले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाएको हो।
विद्यालयका प्रिन्सिपल सन्नी पाख्रिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक निर्देशक मणि पाख्रिङले नवनिर्वाचित विद्यार्थीलाई बधाई दिँदै नेतृत्व अधिकारभन्दा बढी जिम्मेवारी भएको बताए। उनले अनुशासन, इमान्दारी, सेवाभाव र जिम्मेवारीलाई आत्मसात् गर्दै विद्यालयको गरिमा बढाउने भूमिका निर्वाह गर्न आग्रह गरे।
उनले विद्यार्थी जीवनमै प्राप्त नेतृत्वको अनुभवले भविष्यमा सफल व्यक्तित्व निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्दै अनुशासनलाई विद्यालयभित्र मात्र सीमित नराखी जीवनशैलीकै अभिन्न हिस्सा बनाउनुपर्ने धारणा व्यक्त गरे।
प्रिन्सिपल पाख्रिङले पनि लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्वमा पुगेका विद्यार्थीको अब वास्तविक परीक्षा सुरु भएको बताउँदै नेतृत्वले आत्मविश्वास, निर्णय क्षमता, व्यवहार र जिम्मेवारीबोध विकास गर्ने भएकाले सबैका लागि उदाहरणीय बन्नुपर्नेमा जोड दिए। उनले नेतृत्वको अवसरलाई सिकाइ र सेवाको माध्यमका रूपमा उपयोग गर्न विद्यार्थीलाई सुझाव दिए।
कार्यक्रममा विद्यालयकी सञ्चालिका मीरा राई पाख्रिङको विशेष उपस्थिति रहेको थियो। शपथग्रहणपछि नवनिर्वाचित विद्यार्थी नेतृत्वले विद्यालयको अनुशासन, शैक्षिक वातावरण तथा अतिरिक्त क्रियाकलापलाई अझ प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरेका थिए।
विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिताबीच कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको विद्यालयले जनाएको छ।


