Categories शिक्षा समाचार

मतदानबाट छानिए विद्यार्थी प्रतिनिधि, आदर्श माविमा लोकतान्त्रिक अभ्यास

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित श्री आदर्श माध्यमिक विद्यालयले विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन र लोकतान्त्रिक संस्कार विकास गर्ने उद्देश्यले विशेष विद्यार्थी निर्वाचन कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयले कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागितामा लोकतान्त्रिक प्रक्रियामार्फत विभिन्न विद्यार्थी प्रतिनिधि चयन गरेको जनाएको छ। विद्यालयभित्र सुशासन र जिम्मेवार वातावरण निर्माण गर्ने लक्ष्यका साथ आयोजित निर्वाचनमा कुल २०० जना विद्यार्थीले उत्साहपूर्वक मतदान गरेका थिए। विद्यालयका अनुसार सम्पूर्ण मतदान प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित र पारदर्शी रूपमा सम्पन्न भएको थियो।

Advertisement

विद्यालयका कोर्डिनेटर राम नरेश पाण्डेयले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै व्यवहारिक शिक्षा, नेतृत्व विकास र नागरिक चेतनासमेत आवश्यक पर्ने भएकाले यस्तो अभ्यास गरिएको बताउनुभयो। उहाँका अनुसार मतदानबाट निर्वाचित विद्यार्थी प्रतिनिधिले विद्यालयमा अनुशासन कायम राख्ने, विद्यार्थीका गुनासा तथा सुझाव प्रशासनसम्म पुर्‍याउने र विभिन्न रचनात्मक गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन्।

Advertisement

निर्वाचनमा सहभागी विद्यार्थीहरूले आफ्ना प्रतिनिधि आफैंले चयन गर्न पाउँदा खुसी व्यक्त गरेका छन्। उनीहरूले यस कार्यक्रमबाट मतदान प्रक्रिया, मताधिकारको महत्व, नागरिक कर्तव्य तथा लोकतान्त्रिक मूल्य–मान्यताबारे व्यवहारिक अनुभव हासिल भएको बताएका छन्।

विद्यालय प्रशासनले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। विद्यालयका अनुसार यस अभ्यासले विद्यार्थीमा आत्मविश्वास, जिम्मेवारीबोध, सहकार्यको भावना र नेतृत्व क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *