Categories लेख

राजनीतिक समर्थकहरु कहिले सचेत नागरिक बन्ने ?

देशको जुन सुकै कुनामा पुग्नुस, तपाईंले यस्ता धेरै परिवार भेट्नुहुनेछ जहाँ एक दाजुभाइ एउटा दलको समर्थक हुन्छ भने अर्को अर्कै दलको। श्रीमान् एउटा विचारका समर्थक हुन्छन भने श्रीमती अर्कै विचारकी। चुनाव सकिन्छ, नतिजा आउँछ, अनि सबै फेरि एउटै टेबलमा बसेर खाना खान्छन, सुख–दुःख साट्छन र जीवन आफ्नै लयमा अघि बढिरहन्छ।

नेताहरूको संसार पनि धेरै फरक छैन। संसदमा चर्काचर्की हुन्छ, टेलिभिजनमा आरोप–प्रत्यारोप चल्छ, चुनावी सभामा एक अर्का माथि कडा शब्द प्रहार गरिन्छ। तर सदन बाहिर तिनै नेताहरू एकअर्काको हालखबर सोधिरहेका हुन्छन, सँगै चिया पिइरहेका हुन्छन, निजी कार्यक्रममा सहभागी भइरहेका हुन्छन र वर्षौँदेखिका व्यक्तिगत सम्बन्ध पनि निभाइरहेका हुन्छन।

Advertisement

त्यसो भए प्रश्न उठ्छ—समर्थकहरू किन एक अर्काका शत्रु जस्तै बन्न पुग्छन?

Advertisement

किनभने राजनीतिलाई विस्तारै विचारको विषयबाट पहिचानको विषय बनाइयो। मानिसहरूलाई यस्तो विश्वास दिलाइयो कि कुनै दलको समर्थन गर्नु नै उनीहरूको सम्पूर्ण परिचय हो। त्यसैले आफ्नो दलको आलोचना उनीहरूलाई आफ्नै अस्तित्व माथिको आक्रमण जस्तो लाग्न थाल्यो। त्यसपछि तर्क हराउँछ, रिस हावी हुन्छ र संवादको ठाउँ अपमानले लिन्छ।

यहीँबाट समाजको क्षति सुरु हुन्छ। जब आम नागरिक आफ्ना वास्तविक समस्या बिर्सेर राजनीतिक झण्डाको पहरेदार बन्न थाल्छ, तब रोजगारी, ज्याला, कृषि, शिक्षा, स्वास्थ्य, महँगी, स्थानीय विकास, श्रमिक अधिकार, साना व्यवसायका समस्या, सार्वजनिक सेवाको गुणस्तर, प्राकृतिक स्रोत–साधनको उपयोग, कर प्रणाली र आर्थिक असमानता जस्ता विषय ओझेलमा पर्छन। बहस केवल यतिमै सीमित हुन्छ—कुन नेताले कसलाई के भन्यो?

यसको सबैभन्दा ठूलो फाइदा सधैं सत्ता र प्रभाव भएका वर्गले उठाउँछन्। किनकि जब जनता आपसैमा लडिरहेका हुन्छन तब सत्ता सँग जवाफ माग्ने कोही रहँदैन। जनता जति भावनामा बग्छ, उति कम उसले नीतिको हिसाब माग्छ।
लोकतन्त्रको अर्थ पाँच वर्षमा एक पटक मतदान गर्नु मात्र होइन। लोकतन्त्र भनेको प्रश्न सोध्ने साहस हो, निर्णयको समीक्षा गर्ने क्षमता हो र सत्तालाई निरन्तर जनताप्रति उत्तरदायी बनाइ राख्ने संस्कार हो। यदि कुनै नेता वा दलको आलोचना गर्नु नै देशद्रोह, धर्मद्रोह वा व्यक्तिगत अपमान ठान्न थालियो भने लोकतन्त्र बिस्तारै चुनावमा मात्रै सीमित हुन्छ।
नागरिकले व्यक्ति र पदबीचको भिन्नता बुझ्नुपर्छ। नेताको सम्मान गर्न सकिन्छ, तर उसका सबै नीति सही नै हुन्छन् भन्ने छैन। कुनै दलसँग सहमत हुन सकिन्छ, तर त्यसका सबै कुरा अन्तिम सत्य हुन्छन् भन्ने पनि होइन। विचारको सम्मान त्यतिबेला मात्र सम्भव हुन्छ, जब असहमतिको सम्मान गर्न पनि सिकिन्छ।

सचेत समाजले नेताको पूजा गर्दैन, मूल्याङ्कन गर्छ। उसले नारा भन्दा परिणाम हेर्छ, अनुहार भन्दा नीति हेर्छ। उसले सोध्छ—कुन निर्णयले जनताको जीवन सहज बनायो? कुन निर्णयले कठिन बनायो? कसले लाभ पायो? र त्यसको मूल्य कसले चुकायो?

यदि समर्थकहरूले आफ्ना नेता प्रति थोरै दूरी राखेर सोच्न सके भने उनीहरूले देख्नेछन : जसका लागि उनीहरू सम्बन्ध बिगार्न, झगडा गर्न र घृणा फैलाउन तयार हुन्छन, ती नेताहरू आफैं निजी जीवनमा सामान्य मानवीय सम्बन्ध निभाइरहेका हुन्छन्।

त्यसैले लोकतन्त्रमा नागरिकको दायित्व कुनै दलको अन्धसमर्थक वा सैनिक बन्नु होइन, समाजको सजग प्रहरी बन्नु हो। जब जनताले प्रश्न गर्न छोड्छन, तब लोकतन्त्र बलियो हुँदैन, केवल सत्ता बलियो हुन्छ। तर जब जनताले सोच्न, तर्क गर्न र संवाद गर्न थाल्छन, तब मात्रै लोकतन्त्र साँच्चिकै जनताको लोकतन्त्र बन्छ।

र अन्त्यमा, आफ्नो कुरा…

सरकारमा जो आए पनि मेरो चुल्हो बलिरहन्छ। मेरो रोटी पाकिरहन्छ। मेरो जागिर कुनै आईटी सेलमा छैन कि सरकार फेरिँदा बायोडाटा पनि फेरि रहनुपरोस। सरकारहरू आउँछन, जान्छन, तर हामी जस्ता सामान्य नागरिकको जीवन आफ्नै संघर्ष र मेहनतले अघि बढिरहेको हुन्छ। सत्ता जनताकै लागि हो र हामी पनि जनता भएकाले त्यसबाट प्राप्त सेवा र सुविधाको उपयोग गर्नु हाम्रो अधिकार हो। त्यसैले व्यक्तिको होइन, नीति र कामको समर्थन गरौँ। प्रश्न गरौँ, सोचौँ, बहस गरौँ—किनकि सचेत नागरिक नै बलियो लोकतन्त्रको आधार हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *