वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदका स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन नयाँ विस्तृत मार्गदर्शन लागू गरेको छ। पार्टीले स्वकीय सचिवसँग सम्बन्धित आर्थिक अनियमिततामा ‘शून्य सहनशीलता’ अपनाउने स्पष्ट चेतावनी दिएको छ।
महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी सूचनाअनुसार स्वकीय सचिवको पारिश्रमिकबाट कुनै पनि प्रकारको अनधिकृत रकम कट्टा, असुल वा हिनामिना गर्न पाइने छैन। सांसदहरूले पारिश्रमिक सिधै स्वकीय सचिवको बैंक खातामा जम्मा हुने व्यवस्था सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ।
मार्गदर्शनले नियुक्त गरिएका स्वकीय सचिवको व्यक्तिगत विवरण र शैक्षिक योग्यताका प्रमाणपत्र संघीय संसद् सचिवालय र पार्टीको केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा दर्ता गराउनुपर्ने व्यवस्था गरेको छ। साथै, सांसदले स्वकीय सचिवको कार्यसम्पादनको नियमित मूल्यांकन गरी आवधिक प्रतिवेदन संसदीय दलसमक्ष बुझाउनुपर्नेछ।
रास्वपाले स्वकीय सचिवले सांसदका कामकारबाही, पार्टीका आन्तरिक सूचना तथा संसद्सँग सम्बन्धित संवेदनशील विषयको गोपनीयता पूर्ण रूपमा कायम राख्नुपर्नेमा पनि जोड दिएको छ।
पार्टीले राज्यकोषबाट उपलब्ध हुने सुविधा जनताको करबाट सञ्चालन हुने भएकाले यसको प्रयोगमा उच्च नैतिकता र जनउत्तरदायित्व आवश्यक रहेको उल्लेख गरेको छ। नातेदार नियुक्त गर्ने, कागजी रूपमा मात्र स्वकीय सचिव देखाएर सुविधा लिने वा अन्य कुनै आर्थिक हिनामिना गर्ने कार्यलाई गम्भीर अनुशासनहीनता मानिने र त्यस्ता गतिविधिमा संलग्नमाथि केन्द्रीय अनुशासन समितिमार्फत कारबाही गरिने चेतावनी दिइएको छ।
यस्तै, स्वकीय सचिवको कार्यसम्पादन सन्तोषजनक नभए, पदीय आचरणविपरीत गतिविधि गरे वा गोपनीयता भंग गरेमा सम्बन्धित सांसदले संसदीय दललाई जानकारी गराई जुनसुकै बेला पदमुक्त गर्न सक्ने व्यवस्था पनि गरिएको छ।
नयाँ स्वकीय सचिव नियुक्तिको प्रक्रियालाई थप पारदर्शी बनाउन रास्वपाले सार्वजनिक दरखास्त आह्वानका लागि साझा र आधिकारिक विज्ञापन ढाँचा तयार गर्ने जनाएको छ। उक्त ढाँचामा आवश्यक योग्यता, कार्यविवरण र आवेदन प्रक्रिया स्पष्ट उल्लेख गरिनेछ र सबै सांसदले नयाँ नियुक्तिका क्रममा सोही ढाँचा अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।
मार्गदर्शन कार्यान्वयन तथा आवश्यक समन्वयका लागि संसदीय दलका उपनेता, मुख्य सचेतक र सचेतकसँग सम्पर्क गर्न सकिने पनि सूचनामा उल्लेख गरिएको छ।


