वीरगंज । धनुषाको ढल्केबर क्षेत्रमा प्रहरीले हवाई फायर गरी दुई जना भारतीय नागरिकलाई लागुऔषधसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतका २८ वर्षीय सन्तोष कुमार महतो र ४५ वर्षीय मिथिलेश साहु रहेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी सुवास बोहराका अनुसार शुक्रबार ढल्केबर–जनकपुर सडकखण्डमा प्रहरी टोलीसँग जम्काभेट भएपछि उनीहरू भाग्ने प्रयास गरेका थिए। नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो।
प्रहरीले दुवै जनालाई पक्राउ गरी उनीहरूको साथबाट ९५ ग्राम ५९० मिलिग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




