वीरगंज । पर्सा प्रहरीले २०७ किलो लागूऔषध गाँजासहित एक पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा साउन १९ गते साँझ करिब ६:३० बजे इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभठ्ठाको संयुक्त टोलीले बिन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको टाटा योद्धा पिकअप रोकी जाँच गरेको थियो।
जाँचका क्रममा गाडीभित्र सिमेन्टको बोरामा लुकाइछिपाइ राखिएको २०७ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
उक्त गाँजा भारततर्फ लैजाँदै गरेको आशंकामा मकवानपुरको हेटौडा उपमहानगरपालिका–१३ निवासी ४८ वर्षीय कृष्णा लामालाई पक्राउ गरिएको छ।
बरामद गाँजा, पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी चक्रबहादुर मल्लले जानकारी दिए ।



